असोजसम्म एक करोड ८३ लाख खोप ल्याउने तयारी
काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणविरुद्धको खोप आगामी असोज मसान्तसम्म एक करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै आगामी असोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट एक करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको उल्लेख छ ।
उनका अनुसार चीनको साइनोफार्म कम्पनीबाट ६० हजार मात्रा खोप खरिदको सम्झौता अगाडि बढिसकेको छ। त्यस्तै‚ कोभ्याक्स सुविधामार्फत जापान सरकारले एस्ट्राजेनिका १६ लाख मात्रा र भारतबाट खरिद गरेको १० लाख मात्रा कोभिशिल्ड आउने छ। पौडेलले कोभ्याक्समार्फत १२ वर्षमाथिका बालबालिकाका लागि एक करोड ५० लाख मात्रा खोप ल्याउने गृहकार्य पनि अगाडि बढेको जानकारी दिए ।
मन्त्रालयले कोभ्याक्सबाट निःशुल्क २० प्रतिशत जनसंख्याका लागि प्राप्त हुने एक करोड १३ लाख मात्रा खोप पनि क्रमशः प्राप्त हुँदै जाने र चैत मसान्तसम्म सबै नेपालीलाई खोप दिलाउने योजना रहेको छ । सरकारले अहिलेसम्म ९७ लाख ८२ हजार ८५० खोप प्राप्त गरिसकेको जनाएको छ । तीमध्ये भारतबाट १० लाख मात्रा, नेपाली सेनालाई एक लाख अनुदानमा, कोभ्याक्सबाट तीन लाख ४८ हजार मात्रा, चीनबाट दुई पटक अनुदानमा १८ लाख मात्रा भेरोसेल खोप र चीनबाट खरिद गरेको ५८ लाख मात्रा भेरोसेल खोप, र अमेरिकाबाट अनुदानमा प्राप्त जोन्सन एण्ड जोन्सन खोप १५ लाख ३४ हजार ८५० मात्रा रहेका छन् ।



तपाईंको प्रतिक्रिया