रुकुम पश्चिमको जनसंख्या १० वर्षको अवधिमा १० प्रतिशतले बढ्यो

 कार्तिक १२, २०७८

तुलसिपुर। रुकुम पश्चिमको जनसंख्या १० वर्षको अवधिमा करिब१० प्रतिशत बढेको छ । जनगणना २०७८ अन्तरगत भएको घर तथा घर परिवार सूचिकरणवाट जिल्लाको जनसंख्या १ लाख ७२ हजार ९ सय ५६ देखिएको छ भने २०६८ सालमा रुकुम पश्चिमको जनसंख्या १ लाख ५४ हजार २ सय ७२ रहेको जिल्ला जनगणना कार्यलय रुकुम पश्चिमले जनाएको छ ।

२०७८ को प्रारम्भिक नतिजा र २०६८ को नतिजाको तुलना गर्दा १० वर्षको अवधिमा जिल्लाको जनसंख्या १८ हजार ६ सय ८४ ले बढेको जनगणना अधिकारी सतिश चौधरीले जानकारी दिनुभयो । प्रारम्भिक नतिजा अनुसार जिल्लाको जनसंख्या १०.८० प्रतिशतले बढेको देखिएको छ । २०६८ को जनगणना अनुसार जिल्लामा ३० हजार ६ सय ३३ घरसंख्या रहेकोमा हाल यो संख्या बढेर ३८ हजार १ सय २४ पुगेको चौधरीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा घरधुरी संख्या २४ प्रतिशतले बढेको छ ।


प्रारम्भिक गणनाको नतिजा अनुसार जिल्लाका अधिकांश परिवार कृषिमा निर्भर रहेका छन् । ३८ हजार १ सय २४ कुल घर परिवार मध्य ३१ हजार ९ सय १७ कृषक परिवार रहेको जिल्ला जनगणना कार्यालयले जनाएको छ । घर तथा घर परिवार सूचिकरणका लागि भदौ ३० देखि असोज १८ सम्म ५७ जना फिल्ड सुपरिवेक्षक खटिएका थिए । २० दिनसम्म सुरपरिवेक्षकहरु घर घरमा पुगेको कार्यालयको भनाई छ । मुख्य गणना भने कार्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने छ । यो प्रारम्भिक नतिजा भएको र यसमा मुख्य गणनाबाट केही तलमाथि हुन सक्ने बताईएको छ ।

तपाईंको प्रतिक्रिया