व्यवसायीले आफूखुसी बढाए खाने तेलको मूल्य

 माघ २५, २०७८

काठमाडौं ।

व्यवसायीहरुले आफूखुसी सबै प्रकारका खाने तेलको मूल्य बढाएका छन् । उनीहरुले दुई साताको अवधिमा तोरी, भटमास र सूर्यमुखी गरी तीनै प्रकारका तेलको मूल्य बढाएका हुन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्य लिटरमा १० रुपैयाँले बढेको छ भने तोरीको तेलको मूल्य लिटरमा दुईदेखि तीन रुपैयाँले वृद्धि भएको छ ।

नयाँ मूल्यवृद्धि पछि भटमासको तेलको प्रतिलिटर खुद्रा बिक्री मूल्य २४० रुपैयाँ, सूर्यमुखी तेलको मूल्य लिटरमा २६० र तोरीको तेलको मूल्य ३४२ रुपैयाँ पुगेको संघका सदस्य कविन्द्र श्रेष्ठले बताए । ‘दुई साताको अवधिमा मूल्य बढेर आएको छ, कारण के हो थाहा छैन्,’ श्रेष्ठले भने ।

बजारमा होलसेलले पठाइएको तेलमा प्रिन्ट मूल्य (खुद्रा बिक्री मूल्य) नै उद्योगीले बढाएका छन् । जसमा २२० रुपैयाँको भटमासको तेलको खुद्रा बिक्री मूल्य ट्याग २३० पुर्‍याइएको छ भने २४० को सूर्यमुखी तेलको मूल्य २४८ रुपैयाँ पुर्‍याइएको छ । यस्तै तोरीको तेलको मूल्य भने कार्टुनमा २० देखि ३० रुपैयाँसम्म बढाएर प्रति कार्टुन (१० लिटर) को मूल्य ३४ सय १० रुपैयाँसम्म पुर्‍याइएको संघले जनाएको छ ।

तपाईंको प्रतिक्रिया