१८ वर्षमाथिका सबैलाई बुस्टर डोज

 फागुन १२, २०७८

काठमाडौं । १८ वर्ष र सोभन्दा माथिका सबैलाई कोभिडविरुद्धको बुस्टर डोज खोप लगाउन सुरु गरिएको छ । पूर्ण खोप लिएको ६ महिना पुगेका सबै वयस्कलाई बुस्टर लगाउन थालिएको हो । त्यस्तै, सरकारले कोभ्यासअन्तर्गत अनुदानमा प्राप्त हुने फाइजरको ९२ लाख डोजलाई पनि प्राथमिक (पहिलो र दोस्रो) सँगै बुस्टरका रूपमा लगाउने योजना बनाएको छ ।

१२ वर्ष र सोभन्दा माथिकालाई बुस्टर र प्राथमिक डोज लगाउन मिल्ने ९२ लाख डोज फाइजर मार्चदेखि आउनेछ,’ स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले भने, ‘बुस्टरले भविष्यमा आउन सक्ने सम्भावित लहरको क्षतिलाई न्यून गर्छ । खोपसँगै डाइलेन्ट र सिरिन्जसमेत निःशुल्क आउने मन्त्रालयले जनाएको छ । विभिन्न अध्ययनअनुसार बुस्टर डोजले शरीरमा भएको एन्टिबडी (प्रतिरोध क्षमता) को स्तरलाई बढाउँछ ।

बुस्टर लिएपछि बिरामीलाई कोभिड संक्रमण भए पनि गम्भीर रूपले बिरामी हुने सम्भावनामा कमी आउँछ । पूर्ण खोप लगाए पनि केही समयपछि शरीरमा भाइरसविरुद्धको एन्टिबडी कम हुँदै जाने भएकाले बुस्टर डोज अभियानलाई तीव्रता दिन विज्ञहरूले सुझाव दिँदै आएका छन् ।

तपाईंको प्रतिक्रिया