आज बुद्ध जयन्ती मनाइँदै

 २ घण्टा अगाडि

काठमाडौं ।  आज वैशाख शुक्ल पूर्णिमा अर्थात् विश्व शान्तिका संवाहक भगवान् गौतम बुद्धको २५७० औँ जन्मजयन्ती नेपाललगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सिद्धार्थ गौतमको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिनलाई बौद्ध धर्मावलम्बीहरूले ‘त्रिसंयोग’ को पावन पर्वका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाउने गर्दछन्। हिन्दू धर्मावलम्बीहरूले पनि बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा स्वीकार गर्दै आजको दिन विशेष पूजा आराधना र प्रवचन गर्ने परम्परा रहेको छ।

ईसापूर्व ५६३ मा लुम्बिनीको बगैँचामा जन्मिएका सिद्धार्थ गौतमले मानव कल्याण र विश्व शान्तिका लागि आफ्नो राजकीय सुख त्यागेर कठोर तपस्या गरी ज्ञान प्राप्त गरेका थिए। बुद्धले प्रतिपादन गरेको अहिंसा, करुणा र अष्टाङ्गिक मार्गको दर्शन आजको आधुनिक समाजमा पनि उत्तिकै सान्दर्भिक मानिन्छ।

तपाईंको प्रतिक्रिया