कर्मचारीकै मिलेमतोमा सुन तस्करी

 फागुन २१, २०७८

काठमाडाैं । पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेशकुमार भट्टराईले पछिल्लो ३ महिनामा मात्र गैरकानुनी रूपमा भित्रिएको २४० किलो सुन बरामद गरिएको जानकारी दिए ।

गत मंसिर ११ गते निर्देशिका जारी गरी १३ गतेदेखि भन्सार कार्यालयले विशेष अपरेसन थालेको थियो । पहिलो दिन नै २१ किलो सुन भन्सारका कर्मचारीले नियन्त्रणमा लिएका थिए तर त्यो क्रम रोकिएको छैन ।


गत शनिवार १ किलो १६५ ग्राम सुन तस्करीमा संलग्न भएको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका नायब सुब्बा लक्ष्मण हुमागाईंलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी जिल्ला इटहरीका कमल घिमिरेले दुबईबाट ल्याएका १० वटा सुनका सिक्री हुमागाईंले भन्सार छलेर बाहिर पठाउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

गत माघ २९ गते ४ किलो ८४० ग्राम सुनसहित चिनियाँ नागरिक झाङ ली भन्सार पार गरेपछि पक्राउ परेका थिए । हिमालयन एयरलाइन्सको दुबई उडानमा आएका लीले समेत सेटिङ मिलाएर सुन ल्याएकोबारे अनुसन्धान भइरहेको छ । उनी ३०औं पटक नेपाल आएको पाइएको छ ।

विमानस्थल प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/७५ मा १७ किलो ३३८ ग्राम, २०७५/७६ मा २७ किलो ११ ग्राम, २०७/७७ मा साढे ३ किलो र २०७७/७८ मा ३२ किलो तथा चालू आव २०७८/७९ मा मात्र १९ किलो तस्करीको सुन विमानस्थल प्रहरीले बरामद गरेको छ ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार विमानस्थल भएर ३ किसिमले सुनको तस्करी हुने गरेको छ । विमानका कर्मचारीको मिलेमतोमा हुने तस्करी विमानको डस्टबिन हुँदै बाहिर निकालिन्छ । दोस्रो, अध्यागमन र भन्सारका केही कर्मचारीको सहयोग र सेटिङमा र तेस्रो, विमानस्थलका सुरक्षाकर्मीले प्रयोग गर्ने बाटो हुँदै तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको छ ।  गोरखापत्रमा खबर छ ।

तपाईंको प्रतिक्रिया