आज विश्व मिर्गौला दिवस

 फागुन २६, २०७८

काठमाडाैं । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला रोग लाग्नै नदिनका लागि समय–समयमा मिर्गौला परीक्षण गर्नुपर्ने बताए । उनले कम्तीमा वर्षमा १ पटक पिसाबको परीक्षण गर्दा मिर्गौला रोगबारे थाहा हुने जानकारी दिँदै एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिए ।

उनले खानपान, रहनसहन, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको बताए । मिर्गौला रोग विशेषज्ञ डा. ऋषि काफ्लेले मिर्गौला बचाउनका लागि बिहान उठेर एक गिलास पानी पिउन सुझाव दिए । उनले निश्चित समयभित्र मिर्गौला परीक्षण गर्न पनि सुझाव दिए । डा. काफ्लेका अनुसार नेपालमा प्रत्येक १० जनामध्ये १ जना व्यक्तिलाई मिर्गौलासम्बन्धी दीर्घकालीन रोग लाग्ने गरेको छ । नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडायलासिस सेवा शुरू भएको थियो ।

बिहीवार विश्व मिर्गौला दिवस मनाइँदैछ । सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन लागिएको हो । यो वर्ष ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ मनाउन लागिएको छ । गोरखापत्रमा खबर छ ।

तपाईंको प्रतिक्रिया