चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान

 फागुन २६, २०७८

काठमाण्डाै । सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप दिने भएको हो ।

नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएकाले तयारी तीव्र पारिएको हो । आउने चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म यो खोप अभियान सञ्चालन गरिसकेपछि बालबालिकालाई लगाइँदै आइएको नियमित खोप कार्यक्रममा नै यसलाई समेट्ने उहाँले बताउनुभयो ।

तपाईंको प्रतिक्रिया