विकास र समृद्धिको लागी एमालेको नेतृत्व आवस्यक :वली

 बैशाख १४, २०७९

अरुण कुमार नेपाली, रनियापुर । नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य कोमल वलीले देशको समृद्धि र विकास नेकपा एमालेको नेतृत्वमा मात्र सम्भव भएको बताउनु भएको छ । नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका १३ नं। वडा कमिटीले आज रनियापुर निवासी स्वर्गीय कमल नेपालीको १३औ दिनको पुण्य तिथिको अवसरमा आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा वलीको सरकारले छुट्याएको विकास बजेट अहिलेको सरकारले कटौती गरी विकास विरोधी काम गरेको समेत उहाले बताउनु भयो ।

यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनबाट नेकपा एमाले प्रमुख दलको रुपमा स्थापित हुने दाबी गर्दै वलीले त्यस पछि आफ्ना पार्टीका नवनिर्वाचित जनप्रतिनिधिहरुले देशलाई समृद्धिको यात्रामा अघि बढाउने बताउनु भयो ।

पूर्व राष्ट्रिय सभा सदस्य समेत रहेकी वलीले निजीकरण गर्ने नाममा नेपाली कांग्रेसले देशका सबै उद्योगधन्दाहरु बेचेको समेत आरोप लगाउनु भयो । कार्यक्रममा बोल्दै नेकपा एमाले तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेद्धार टिकाराम खड्काले विकास एजेण्डा नेकपा एमालेसंग मात्र भएकाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेद्धारहरुलाई विजय बनाउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला संगठन विभाग प्रमुख श्याम डाँगी,तुलसीपुर उपमहानगरपालिका उपमेयरका उम्मेद्धार श्यानी चौधरी,नेकपा एमाले जिल्ला सदस्य एंव तुलसीपुर उपमहानगरपालिका १३ नं। वडाका वडाध्यक्ष उम्मेद्धार मोहन पौडेल लगायतले श्रद्धाञ्जली मनतव्य व्यक्त गर्नु भएको थियो । वडा कमिटी अध्यक्ष खिमकान्त पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले नगरकमिटीका सदस्य हुम बहादुर नेपालीले स्वागत मनतव्य र स्वर्गीय कमल नेपालीका दाई मधु नेपालीले धन्यवाद मनतव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजिकरण वडा कमिटी सचिव गोबिन्द सुवेदीले गर्नु भएको थियो ।

५ बर्ष अघि रोजगारीको शिलशिलामा मलेसिया गएका तुलसीपुर १३ रनियापुरका २७ बर्षिय कमल नेपालीको चैत १० गते निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया