नेपालमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति भेटियो

 असार २०, २०७९

काठमाडौं । नेपालमा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति ‘बिए पोइन्ट फाइभ’ पुष्टि भएको छ। धुलिखेल अस्पतालले गरेको जिन सिक्वेन्सिङका क्रममा ओमिक्रोनको उपप्रजाति बिए पोइन्ट फाइभ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपत्‌कालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचइओसी) प्रमुख डा. समीर अधिकारीले बताए ।

पछिल्ला केही दिनयता नेपालमा संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति बिए पोइन्ट फाइभ भेटिएको हो। ‘भेरिएन्ट समुदायमा रहेको र संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नयाँ उपप्रजातिहरू भेटिने सम्भावना हुन्छ, अहिले हाम्रोमा संक्रमण बढ्दै गएको अवस्थामा एकजना संक्रमितमा यसअघि ओमिक्रोन भेरिएन्ट जस्तो थियो त्यसमा अलि परिवर्तन भएको रिपोर्ट आएको हो, अरु विस्तृत रुपमा त हामी पनि अध्ययन गर्दै छौं‚’ डा अधिकारीले भने ।

एक जना संक्रमितमा मात्रै उक्त ओमिक्रोन भेरिएन्टको नयाँ उपप्रजाति बिए पोइन्ट फाइभ देखिएको समेत उनले बताए ।

पछिल्लो समय देशभर संक्रमण बढ्न थालेपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दिन संक्रमण बढ्दै गएपछि पुरानै भेरिएन्ट हो कि नयाँ भेरिएन्टको संक्रमण बढेको हो थाहा पाउनका लागि सातै प्रदेशको केही नमुनालाई हाल आनुवांशिक परीक्षण(जिन सिक्वेन्सिङ) गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया