तुलसीपुर पूर्ण खोप सुनिश्चितता घोषणा

 असार २२, २०७९

तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । पालिकाभित्र एक वर्ष मुनिका दुई हजार नौ सय २८ र एक वर्षदेखि २३ महिनासम्मका तीन हजार नौ सय चार जना बालबालिकालाई खोप लगाइएको छ ।

पालिकाभित्र रहेका सम्पूर्ण बालबालिकाहरुलाई खोप लगाइएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले पालिकालाई २०७४ सालमै पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको र अहिले बालिबालिकालाई लगाइने सम्पूर्ण खोपहरुको सुनिश्चितता भएपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको बताएका छन ।

स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत विमल केसीले तुलसीपुर उपमहानगरपालिकाभित्र १७ वटा स्वास्थ्य संस्थाबाट प्रत्येक महिना १९ देखि २३ गतेसम्म खोप सेवा सञ्चालन हुँदै आएको बताउनुभयो । उनले ५३ वटा खोप केन्द्रमा तीस जना स्वास्थ्यकर्मीहरुले खोप सेवा उपलब्ध गराउँदै आएको बताएका छन ।

१४ प्रकारका रोगका विरुद्धका लड्नका लागि सात प्रकारका खोप बालबालिकालाई दिइने गरिएको छ । जिल्लाका सात वटा स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता गरिएको छ ।

स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले तुलसीपुर,दंगीशरण,राप्ती,राजपुर,गढवा,बंगलाचुली,लमही,शान्तिनगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको जानकारी दिएका छन। असार महिनाभित्रै घोराही उपमहानगरपालिका, बबई गाउँपालिकालाई घोषणाको अन्तिम तयारीमा रहेको बताएका छन ।

उनले जिल्लाका ९ वटा पालिकामा खोप भण्डार केन्द्र सञ्चालनमा रहेको र बबई गाउँपालिकामा भने बाँकी रहेको बताएका छन। खोप समन्वय समितिले पनि तथ्यगत विवरणप्रमाणिकरण संगै तुलसीपुर उपमहानगरपालिकालाइ पुर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाका रुपमा घोषणा गर्दै प्रमाण पत्र समेत दिएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला खोप समन्वय समिति जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीले तुलसीपुर उपमहानगरपालिका पूर्ण खोप सुनिश्चित पालिका भएको घोषणा गर्दै पालिकालाइ प्रमाणपत्र समेत दिएका हुन । उनले हरेक वर्ष पर्वकारुपमा मनाउन आग्रह गरेका छन।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले खोप अभियानमा लाग्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन ।

जनश्वास्थ्य महाशाखाका प्रमुख ओम प्रकाश न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत विमल केसीले गरेका थिए। त्यस अवसरमा श्वास्थ्य चाैकि तथा वडाहरुलाई सम्मान पत्रले सम्मान समेत प्रदान गरिएको थियाे ।

तपाईंको प्रतिक्रिया