परिवर्तन गाउँपालिकाकाे पुँजिगत खर्च ९५ प्रतिशत

 असार २३, २०७९

तुलसीपुर । परिवर्तन गाउँपालिका रोल्पाले आर्थिक वर्ष २०७८/२०७९ को सम्पूर्ण कार्यक्रम तथा योजनाहरु सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको सम्पूर्ण भुक्तानी तथा निकासीको काम समेत सम्पन्न गरेको हाे । चालु आर्थिक वर्षको सम्पूर्ण काम सम्पन्न भए संगै गाउँपालिकाको चालुगत खर्च भन्दा पुँजिगत खर्च बढि भएको छ । गाउँपालिकाको अहिलेसम्मकै रेकर्ड ब्रेक गर्दै चालु आर्थिक वर्षमा पुँजिगत खर्च करिव ९५ प्रतिशत र चालुगत खर्च करिव ७९ प्रतिशत खर्च भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज न्यौपानेले बताउनुभयो । आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको चालु खर्च ८० प्रतिशत र पुँजिगत खर्च ८८ प्रतिशत भएको थियो । अघिल्लो वर्षमा भएको खर्च प्रतिशतका आधारमा विश्लेषण गर्ने हो भने चालु आर्थिक वर्ष २०७८/२०७९ मा भने गाउँपालिकाको चालु खर्चको तुलनामा पुँजिगत खर्च बढि भएको र लगभग सम्पूर्ण योजनाको काम सम्पन्न भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताउनुभयो ।
आर्थिक वर्षलाई सफलतापूवर्क सम्पन्न गर्नका लागी गाउँपालिकाले सम्पूर्ण वडा कार्यालय,उपोभोक्ता समिति र विषयगत शाखालाई असार १५ गते सम्मको अन्तिम समयसिमा दिएको र टेण्डरबाट संचालित आयोजनाहरुको हकमा अन्तिम भुक्तानी लिन असार २० गते सम्मको समयसिमा दिएको थियो । त्यहि समयतालिका बमोजिम कामको गतिलाई बढाएर चालु आर्थिक वर्षको सम्पूर्ण काम गाउँपालिकाले तोकिएकै समयमा सम्पन्न गर्न सफल भएको गाउँपालिकाका पुर्वाधार शाखाका प्रमुख खगेन्द्र बुढामगरले बताउनुभयो ।

गाउँपालिकाले सम्पूर्ण आर्थिक हिसाव भिडान गरी संघिय र प्रदेश अन्तर्गत गाउँपालिकालाई प्राप्त भएको शशर्त,विशेष र समपुरक कोष अन्तर्गतको खर्च हुन नसकेको रकम असार मसान्तभित्रै फिर्ता गर्ने र सम्पूर्ण प्रतिवेदन कोष तथा लेखा नियन्त्रकको कार्यालय रोल्पालाई बुझाउने गरी कार्य अघि बढेको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख हरिशचन्द्र डाँगीले जानकारी दिनुभयो । यसैविच, चालु आर्थिक वर्षलाई सफलतापूर्वक समयमानै सम्पन्न गर्न आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण कर्मचारी,जनप्रतिनिधी तथा सेवाग्राहिहरु प्रति गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नुभएको छ ।

तपाईंको प्रतिक्रिया