अपहरित एक वर्षीया बालिकाको सकुशल उद्धार

 साउन ०४, २०७९

काठमाडौं। मोरङको विराटनगरबाट सोमबार अपहरणमा परेकी एक वर्षीया बालिकाको प्रहरीले सकुशल उद्धार गरेको छ । बालिकालाई भारतको दरभंगाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । उनका अनुसार अपहरणमा संलग्न एक महिलालाई समेत नियन्त्रणमा लिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका १ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसा गत सोमबार अपहरणमा परेकी थिइन् । बालिकालाई दीपेन्द्रकी प्रेमिका अञ्जली साहले अपहरण गरेर दरभंगा पुर्‍याएको अवस्थामा सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।

बालिका र अपहरणमा संलग्न साहलाई अहिले नेपाल ल्याउँदै गरेको डीएसपी कार्कीले बताए । अञ्जलीले छोरी निकिसालाई लुगा किनिदिने भन्दै दीपेन्द्रलाई विराटनगरस्थित रोड शेष चोकमा बोलाएकी थिइन् । दीपेन्द्रलाई चोकको एक होटलमा चिया खान लगाएर अञ्जलीले बालिकालाई लिएर भागेपछि प्रहरीमा उजुरी गरेको थियो ।

तपाईंको प्रतिक्रिया