राप्ती हाइड्रोकाे आईपीओ बाँडफाँड

 साउन ०९, २०७९

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २९ गतेदेखि साउन १ गतेसम्म जारी गरेको कुल २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर सोमबार आज बाँडफाँड भएको हो ।

आईपीओ बाँडफाँडमा २ लाख १७ हजार ६९४ जना आवेदकले जनही १० कित्ताका दरले कम्पनीको सेयर हात पारेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।

कम्पनीको आपीओका लागि कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएका थिए । जसमध्ये १४ लाख ९० हजार २९८ आवेदन स्वीकृत भएको थियो भने १ हजार ४२४ आवेदन रद्द भएको कम्पनीले जनाएको छ ।

निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ७० हजार ९८८ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरेर बाँकी रहेको २१ लाख ७६ हजार ९४० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरिएको थियो ।

तपाईंको प्रतिक्रिया