विश्व क्षयरोग दिवस मनाइँदै

 चैत १०, २०७९

काठमाडौं । विश्व क्षयरोग दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले भक्तपुरस्थित कार्यालयमा बिहान १०ः४५ बजे विशेष समारोह आयोजना गरेको छ । सन् १८८२ मार्च २४ का दिन डाक्टर रोबर्ट कोचले क्षयरोगको जिवाणु पत्ता लगाएका थिए । त्यसको एक सय वर्षपछि सन् १९८२ मा २४ मार्चको दिनलाई विश्व क्षयरोग दिवसको रुपमा मनाउने गरिएको छ ।

विश्व स्वास्थ्य संगठनले यस वर्षको दिवसको मुख्य नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौं !’ तय गरेको छ । यही नाराका साथ नेपालमा पनि सप्ताहव्यापी रुपमा विश्व क्षयरोग दिवस मनाउँदै आइएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. नविन प्रकाश शाहले जानकारी दिए । विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभर ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरी करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पीडित भएका थिए । क्षयरोग नियमित उपचारले निको हुने भए पनि सन् २०२१ मा संसारभर क्षयरोगका कारण करिब १६ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

तपाईंको प्रतिक्रिया