बालकको मृत्यु प्रकरण: वडाध्यक्षकाे संयोजकत्वमा छानबिन समिति गठन

 असार ३०, २०८०

दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि उत्पन्न तनाव सहमतिमा टुंगिएको छ । बालकको मृत्युबारे छानबिन गर्न घोराही–३ का वडा अध्यक्ष रामप्रसाद चौधरीको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएको छ ।

शुक्रबार राति मृतकका परिवार र प्रतिष्ठानबीच सहमति भएपछि मृतक बालकका परिवारले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । शनिबारदेखि प्रतिष्ठानका नियमीत सेवाहरु सञ्चालनमा आएका छन् । छारे रोगका बिरामी घोराही उपमहानगरपालिका–३ का ११ वर्षीय आक्रोश नेपालीको उपचारका क्रममा बिहीबार प्रतिष्ठानमा मृत्यु भएपछि परिवार र आफन्तले प्रतिष्ठान र सडकमा प्रदर्शन गरिरहेका थिए ।

मृतकका परिवारका सदस्यलाई रोजगारी दिने, परिवारका लागि आर्थिक सहयोग जुटाउन सर्वपक्षीय समिति बनाउने र मृतकका परिवारलाई राहत दिन स्थानीय, प्रदेश र संघ सरकारसाग अनुरोध गर्ने सहमति भएको छ । यस्तै बालकको उपचारका क्रममा लागेको सम्पूर्ण खर्च प्रतिष्ठानले बेहोर्ने सहमति भएको प्रतिष्ठानले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया