दाङमा ४६ जना डेंगु संक्रमित फेला

 साउन १९, २०८०

दाङ। जिल्लामा अहिलेसम्म ४६ जना डेंगुका संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार हाल जिल्लाभर करिब ४६ जनामा डेंगु संक्रमण देखिएको छ ।  सबैभन्दा बढी घोराही र तुलसीपुरमा देखिएको छ। अहिलेसम्म डेंगु संक्रमण भएका व्यक्तिहरूको अवस्था सामान्य रहेको भन्दै उनले यसबाट बच्न जिल्लाका सबै पालिकामा सचेतनामूलक कार्यक्रम भइरहेको समेत बताए। पालिकाहरू र नेपाल रेडक्रस सोसाइटीबाट विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेको उनको भनाइ छ।

यसैगरी देउखुरीको राप्ती गाउँपालिका-१ भालुवाङबाट ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। शुक्रबारदेखि उक्त अभियान सुरु गरिएको हो। पहिलो चरणमा बजार क्षेत्रमा उक्त अभियान सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले बताए । उनका अनुसार पानी परेसँगै जम्मा हुने ठाउँमा लामखुट्टेका लार्भा बढ्ने भएकाले डेंगुको जोखिम हुने भएकाले यो अभियान सुरु गरिएको हो। गाउँपालिकामा हालसम्म डेँगुका २ जना बिरामी भेटिएका छन् ।

तपाईंको प्रतिक्रिया