सुन तस्करी प्रकरणमा दोषीलाई कारबाही गरी छाड्छाैँ: गृहमन्त्री
काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आज मङ्गलवारको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री श्रेष्ठले सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकार अनुसन्धानमा केन्द्रित हुन्छ, सबैले सकारात्मक वातावरण बनाऔँ, कसैलाई छुट नदिने गरी जाऔँ, पहिचान र कारबाही गरी छाडौँ ।‘ राज्यका निकायलाई सबैले विश्वास गर्नुपर्नेमा जोड दिँदै उहाँले समानान्तर समिति बनाउन उचित नहुने बताउनुभयो ।
उहाँले सबैको सकारात्मक दृष्टिकोण र समर्थनका साथ यस प्रकरणलाई तार्किक निष्कर्षमा पुर्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले विद्युतीय चुरोट (भेप) भित्र सुन ल्याइएको विषयमा दोषी देखिएका कारबाहीको दायरामा आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तपाईंको प्रतिक्रिया