तुलसीपुरबाट काठमाडौं छुटेकाे बस दुर्घटनामा, ३ जनाको अवस्था गम्भीर

तुलसीपुर । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटनामा २६ यात्रु घाइते भएका छन् । तुलसीपुर दाङबाट काठमाडौँ छुटेको बाग्मती प्रदेश ०३-००१ ख २६७५ नम्बरको बस आज बिहान अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो ।
बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।
अन्य घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरी नायब उपरीक्षक जैसवारका अनुसार घाइते सल्यान छत्रेश्वरि ३ का २४ वर्षीय राजेन्द्र पुन, उनका छोरा ६ वर्षीय आशिष केसी र सल्यान जिल्ला बाघचौर नगरपालिका-१० का ५० वर्षीय मानबहादुर खड्काको अवस्था गम्भीर छ । दुर्घटना भएपछि प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
तपाईंको प्रतिक्रिया