एमाले र कांग्रेसद्धारा राजनीतिक संस्कारको अभ्यास

 भदौ ०७, २०८०

तुलसीपुर । दाङको तुलसीपुरमा नेकपा एमाले र नेपाली कांग्रेसले राजनीतिक संस्कारको अभ्यास गर्न थालेका छन् । पश्चिम दाङको समग्र विकासका लागि दुबै पार्टी आगामी दिनमा एक ठाउँमा उभिन्ने भन्दै राजनीतिक संस्कारको अभ्यास सुरु गरेका हुन् । निर्वाचनको समयमा आआफ्ना पार्टीको चुनाव चिन्ह लिएर मैदानमा उत्रिए पनि विकासका साझा मुद्दामा एकै ठाउँमा उभिन्ने भएपछि यसले दाङमा तरङ्ग ल्याएको छ ।

नेकपा एमालेका केन्द्रिय सदस्य घनश्याम पाण्डेको नेतृत्वको टोली तुलसीपुरमा रहेको नेपाली कांग्रेसको पार्टी कार्यालयमा पुगेपछि विकासका लागि साझा मुद्दामा एकै ठाउँमा उभिन्ने सामूहिक प्रतिवद्धता गरेको नेकपा एमाले दाङका सचिवालय सदस्य मानबहादुर रावतले जानकारी दिनुभयो ।

‘‘एमालेका नेता कार्यकर्ता कांग्रेसको पार्टी कार्यालयमा जाँदा एकदमै हार्दिकता थियो । दाङका लागि यो नौलो अभ्यास र राजनीतिक संस्कार पनि हो । यसले दाङको तुलसीपुरबाट नयाँ सन्देश दिएको छ । अब सामाजिक मुद्दामा एकै ठाउँमा उभिने सामूहिक प्रतिवद्धता पनि भएको छ । केन्द्रिय सदस्य पाण्डेले एमालेको पार्टी कार्यालयमा पनि सामूहिक छलफलका लागि कांग्रेसका नेताहरूलाई चुले निम्तो दिनुभएको छ ।’’ सचिवालय सदस्य रावतले भन्नुभयो ।

अबको ४ वर्ष, विकासको वर्ष भएकाले टरिगाउँ एयरपोर्ट, संस्कृत विश्वविद्यालय, लाइफ लाइनको रुपमा रहेको लमही, घोराही, तुलसीपुर सुर्खेत सडक खण्ड जस्ता विकासका साझा एजेण्डामा नेपाली काँग्रेस र एमाले संगै अघि बढ्नका लागि वातावरण तयार गर्ने सहमति भएको छ । स्थानीय तहमा एमाले र प्रदेश तथा सङ्घमा गठबन्धन नेतृत्वको सरकार भएकाले समस्याको पहिचान गर्दै समाधानको गतिलाई अघि बढाउने नेताहरूले बताएका छन् ।

३ घण्टासम्म चलेको सामूहिक छलफलमा राजनीतिक रुपमा कुनै समस्या देखिए नेतृत्वसंग छलफल गरेर निकास खोज्ने बताइएको छ । नेपाली काँग्रेस दाङ क्षेत्र नं ३ ९क० का संघीय सभापति जगत बहादुर खड्काको अध्यक्षतामा एवम् एमाले केन्द्रिय सदस्य पाण्डेको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो । काँग्रेस नगर सभापति सुरेश हमाल, एमालेका केन्द्रिय सदस्य पाण्डे र रावतका बीचमा यस अघि भएका पटक पटका अनौपचारिक बसाई पछि बुधबार पहिलो पटक साझा धारण बनाउन सामूहिक बसाइ भएको हो ।

तपाईंको प्रतिक्रिया