एसिया कपको फाइनल प्रबेशको लागि पाकिस्तान र श्रीलंका भिड्दै

 भदौ २८, २०८०

एसिया कपको सुपर फोर खेलमा बिहीबार पाकिस्तान र श्रीलंकाबीचको खेल अनौपचारिक सेमिफाइनल हुने भएको छ । भारतले सुपर फोरमा श्रीलंकालाई ४१ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । बिहीबार श्रीलंका र पाकिस्तानबीचको खेल दिउँसो ३ : १५ मा कोलोम्बोमा सुरु हुनेछ । श्रीलंका र पाकिस्तान दुबै समान दुई खेलमा २–२ अंक जोडेका छन् । सुपर फोरमा श्रीलंकाले बंगलादेशलाई २१ रनले हराएको थियो । पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको थियो ।

भारत २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । श्रीलंका नेटरनरेटको कारण दोस्रो, पाकिस्तान तेस्रो र बंगलादेश अंक विहीन हुँदै पुछारमा छन् । बंगलादेश सुपर फोरबाटै बाहिरिएको छ । श्रीलंका र पाकिस्तानबीचको खेलबाट विजेता टोलीको ४ अंक हुनेछ । ४ अंक हुने टोली शीर्ष दुईमा रहँदै फाइनल खेल्नेछ ।

तर यदि वर्षाको कारण रद्द भएमा दुबै टोलीको समान ३ अंक हुनेछ । नेटरनरेटको कारण श्रीलंका फाइनल खेल्नेछ । श्रीलंकाको नेटरनरेट माइनस ०–२०० छ । पाकिस्तानको नेटरनरेट माइनस १.८९२ छ । यदि खेल रद्द हुँदा भारतसँगको २ सय २८ रनको हार पाकिस्तान बाहिरिनुको मुख्य कारण बन्नेछ । समूह चरणको अन्तिम खेल शुक्रबार भारत र बंगलादेशबीच हुनेछ । फाइनल आइतबार हुनेछ ।

तपाईंको प्रतिक्रिया