श्रीलंका एशिया कपको फाइनलमा, पाकिस्तान २ विकेटले पराजित

 भदौ २९, २०८०

काठमाडौँ । श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ । एशिया कपको सुपर फोर अन्तर्गत पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान सुरक्षित गरेको हो । पाकिस्तानले दिएको २५२ रनको लक्ष्य पछाएको खेलमा श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । बर्षाले प्रभावित हुदा ४२-४२ ओभर खेलाइएको यस खेलमा डक वर्थ लुइस नियम अनुसार श्रीलंकालाई ४२ ओभरमा २५२ रनको लक्ष्य दिइएको थियो ।

श्रीलंकाका लागि चारिथ असलंकाले अन्तिम २ बलमा जितका लागि ६ रन आवश्यक भएको बेला चौका र २ रन लिएर श्रीलंकालाई जित दिलाउदै फाइनलमा पुर्याएका थिए । उनले अविजित ४९ रन बनाएका थिए । त्यस्तै श्रीलंकाका लागि कुसल मेडिन्सले सर्बाधिक ९१, सडीरा समाराविक्रमाले ४८ रन बनाएका थिए । त्यस्तै पाकिस्तानी बलर इफ्तिखार अहमदले ३, शाहिन शाह अफ्रिदीले २ तथा शाडाब खानले एक विकेट लिएका थिए ।

यसअघि पाकिस्तानले टस जितेर पहिला ब्याटिंग गर्दै ४२ ओभरमा ७ विकेट गुमाउदै २५२ रन बनाएको थियो । पाकिस्तानका मोहमद रिजवानले सर्बाधिक ८६ रन बनाए भने अब्दुल्लाह शाफिकले ५२, इफ्तिखार अहमदले ४७ रनको योगदान गरेका थिए ।

यो जितसँगै श्रीलंका एशिया कपको फाइनलमा पुगेको छ भने पाकिस्तान एशिया कपबाट बाहिरिएको छ । अब सुपर फोरको अन्तिम खेलमा आज भारत र बंगलादेश खेल्ने छन् भने फाइनल खेल आइतबार भारत र श्रीलंका भिड्ने छन् ।

तपाईंको प्रतिक्रिया