एक बर्षमा २ हजार ७ सय महिलाले सुत्केरी सेवा लिए

 असोज ०८, २०८०

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालमा पुगेर मात्रै २० वर्ष मुनिका झण्डै ४ सय जना किशोरीले बच्चा जन्माएका छन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले दिएको तथ्याङक अनुसार वितेको आर्थिक वर्षमा मात्रै ३ सय ५७ जना २० वर्षमुनिका किशोरीले राप्ती प्रादेशिक अस्पतालमा पुगेर बच्चा जन्माएको अस्पतालले जनाएको छ ।

यस्तै सानै उमेरमा विवाह गरेर बच्चा जन्माउँदा महिलाहरुको स्वास्थ्यमा पछिसम्म पनि असर गर्ने डाक्टरहरुले बताउँछन् । २० वर्ष भन्दा कम उमेरको किशोरीको प्रजनन् क्षमताको विकास भैनसकेको हुँदा बच्चा जन्माउनलाई परिपक्व हुँदैन । त्यसैले स्वास्थ्यका लागि पनि २० वर्ष पुगेपछि मात्रै विवाह गर्ने र सन्तान उत्पादनका लागि विचार गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह सुझावहरुलाई पनि वेवास्ता गरिएको देखिन्छ ।
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा वितेको तीन वर्षको अवधिमा २० वर्ष मुनि र २० वर्ष माथिका ९ हजार ५ सय १३ जनाले सुत्केरी सेवा लिएका छन् ।

आर्थिक वर्ष २०७७/२०७८ मा ३ हजार ९ सय १९ जना, आर्थिक वर्ष २०७८/२०७९ मा २ हजार ८ सय ८३ र आव २०७९/२०८० मा २ हजार ७ सय २१ जनाले अस्पतालमा आएर सुत्केरी सेवा लिएको सूचना अधिकारी भुुषण सुवेदीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिक्रिया