वर्षाका कारण विश्वकपको वार्मअप खेल प्रभावित

 असोज १३, २०८०

काठमाडौं | आईसीसी एकदिवसीय विश्वकप अघिका शनिबारका दुवै अभ्यास खेल वर्षाले प्रभावित भएका छन्। गुहाहिटीमा इंग्ल्याण्ड र भारतबीचकाे खेलमा भारतले टस जितेर पहिले ब्याटिङ रोजेको छ। तर टसपछि पानी परेकाले खेल शुरु हुन सकेको छैन।

यस्तै, थिरुभानन्थापुरममा अष्ट्रेलिया र नेदरल्याण्ड्सबीचको खेलमा भने वर्षाका कारण टस नै हुन सकेको छैन। १३औँ संस्करणको विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतका विभिन्न शहरमा हुँदैछ। प्रतियोगितामा सहभागी १० देशहरु अन्तिम तयारीमा व्यस्त छन्।

विश्वकप शुरू हुनुअघि सहभागी १० वटै टोलीले दुई-दुई वटा अभ्यास खेल खेल्न लागेका हुन्। शुक्रबारको अभ्यास खेलमा न्युजिल्याण्ड र बंगलादेश विजयी भएका छन्। न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हरायो।

त्यस्तै श्रीलंका बंगलादेशसँग ७ विकेटले पराजित भयो। हिजोका लागि तय भएको अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको अभ्यास खेल भने वर्षाका कारण रद्द भएको थियो।

तपाईंको प्रतिक्रिया