विश्वकपमा भारत र पाकिस्तान आपसमा भिड्दै

 असोज २७, २०८०

काठमाडौँ । जारी आईसीसी एकदिवसीय विश्वकपमा भारत र पाकिस्तानबिचको वहुप्रतिक्षीत भिडन्त शनिबार हुँदै छ । खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । भारत र पाकिस्तानबिचको दिवा—रात्रि खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ । विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ । यी दुई राष्ट्रको राजनीतिक सम्बन्धको प्रभाव क्रिकेटमा समेत पर्ने गरेको छ । त्यसैले पनि विश्वभरका करोडौँ क्रिकेट प्रेमीलाई यी दुई राष्ट्रबिचको खेलको प्रशिक्षा रहन्छ ।

यी दुवै राष्ट्रले पहिलो संस्करणदेखि नै एकदिवसीय विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । त्यसैले यी दुवै राष्ट्रको विश्वकपमा यो १३औँ सहभागिता हो । भारत र पाकिस्तान दुवै एकदिवसीय विश्वकपको पूर्वविजेता पनि हुन् । भारतले दुई र पाकिस्तानले एकपटक विश्वकपको उपाधि उचालेका छन् । भारतले सन् १९८३ र सन् २०११ मा विश्वकप जितेको थियो । पाकिस्तानी टोलीले भने सन् १९९२ मा विश्वकपको उपाधि चुमेको थियो ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो एकदिवसीय वरीयतामा पनि यी दुई टोली नै पहिलो र दोस्रो स्थानमा छन् ।

तपाईंको प्रतिक्रिया