५ पटकको विजेता अस्ट्रेलियाले पहिलो जीत निकाल्यो

 असोज ३०, २०८०

सर्वाधिक ५ पटकको विजेता अस्ट्रेलिया भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा पहिलो जीत निकालेको छ । सोमवार राति सकिएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हारउँदै जारी प्रतियोगितामा ३ खेल खेल्दा पहिलो जीत निकोलेको हो । यसअघि अष्ट्रेलिया घरेलु टोली र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।

श्रीलंकाले प्रस्तुत गरेको २१० रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५ विकेट गुमाएर ८८ बल अगावै ३५.२ ओभरमा पूरा गर्यो । अस्ट्रेलियाको सहज जीतमा जोस इंग्लिस र मिचेल मार्सले अर्धशतकीय पारी खेले । इंग्लिसले सर्वाधिक ५८ रन को योगदान दिए । त्यस्तै ओपनर मार्सले ५२ तथा मार्नस लाबुस्चेनेले ४० रन बनाए । अविजित रहँदै ग्लेन म्याक्सवेलले ३१ तथा मार्कस स्टोइनिस २० रन बनाउँदै टोलीलाई जीतसम्म डो¥याए । ।

श्रीलंकाका लागि दिल्सान मधुशंकाले ३ तथा दुनिथ वेललागेले १ विकेट लिए पनि त्यो आफ्नो टोलीलाई जीत दिलाउन पर्याप्त भएन । यसअघि लखनाऊमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर २०९ रनमात्र बनाएको थियो । श्रीलंकाका पनि ओपनर पाथुम निशांका र कुशल परेरा दुवैले अर्धशतकीय पारी खेलेका थिए । निशांकाले ले ६१ तथा परेराले ७८ रन बनाउँदै श्रीलङ्कालाई उत्कृष्ट शुरुवात दिलाएका थिए । तर पछि टोलीको नाटकीय पतन भएपछि अष्ट्रेलियालाई धेरै लक्ष्य दिन सकेन ।

दुई जनाले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे पनि त्यसपछि चारिथ अशलंकाले २५ रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि एडम जाम्पाले ४ तथा मिचेल स्टार्क र प्याट कमिन्सले २–२ विकेट लिएका थिए । पहिलो जीतपछि २ अंक जोडेको अष्ट्रेलिया अंक तालिकाको आठौं स्थानमा छ । तीन खेल खेलेर सबैमा हार ब्यहोरेको श्रीलंका अंकविहीन रहँदै नवौं स्थानमा मात्र छ । १० मध्ये ४ टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउँछन् ।

तपाईंको प्रतिक्रिया