कोहलीको शतकमा भारतको लगातार चौथो जित

 कार्तिक ०२, २०८०

विराट कोहलीको सानदार शतकमा उपाधिको दाबेदार घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा लगातार चौथो जित हात पारेको छ । बंगलादेशलाई ७ विकेटले हराउँदै भारतले सेमिफाइनल सम्भावना मजबुत बनाएको छ । जितको लागि २ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको भारतले ४१.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । विराट कोहली ९७ बलमा ६ चौका र ४ छक्कासहित १ सय ३ रनमा नट आउट रहे । टिमको लागि जित निकाल्न दुई रन आवश्यक पर्दा कोहलीले नासुम अहमदलाई छक्का हान्दै खेल सकाउनुको साथै शतक पूरा गरेका थिए ।

भारतलाई जितको लागि २० रन चाहिँदा कोहलीलाई पनि शतक बनाउन त्यतिनै चाहिँएको थियो । त्यसपछि कोहलीले शतकमा ध्यान दिएका थिए । कोहलीको यो ओडिआई करिअरको ४८ औं शतक हो । ओडिआईमा सर्वाधिक धेरै शतक सचिन तेन्दुलकुरले ४९ औं शतक प्रहार गरेका छन् । उक्त कीर्तिमान पूरा गर्न अव दुई शतक मात्रै बाँकी छ ।

लोकेश राहुल ३४ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे । भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले १२.४ ओभरमा ८८ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । रोहित शर्मा ४० बलमा ७ चौका र २ छक्कासहित ४८ रनमा आउट भए । गिल ५५ बलमा ५ चौका र २ छक्कासहित ५३ रनमा आउट भए ।

बंगलादेशका मेहेदी हसन मिराजले १० ओभरमा ४७ रन खर्चेर २ विकेट लिए । हसन मोहम्मदले एक विकेट लिए । त्यसअघि पुणेमा टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५६ रन बनाएको थियो । बंगलादेशका ओपनर लिटन दासले ८२ बलमा ७ चौकासहित सर्वाधिक ६६ रन बनाए ।

अर्का ओपनर तानजिद हसन ४३ बलमा ५ चौका र ३ छक्कासहित ५१ रनमा आउट भए । बंगलादेशलाई ओपनर हसन र दासले १४.४ ओभरमा ९३ रन जोड्दै सानदार सुरुवात दिलाएका थिए । तर त्यो सुरुवातलाई निरन्तरता दिन नसक्दा विशाल योगफल बनाउन चुकेको थियो ।

कुलदीप यादवले हसनलाई एलबीडब्लू आउट गरे । त्यसपछि बंगलादेशका ब्याटरले साझेदारी गर्न नसक्दा मध्यम योगफलमै रोकिएको थियो । जुन भारतलाई हराउन पर्याप्त रन थिएन ।

भारतले पहिलो खेलमा अष्टेलियालाई ६ विकेट, अफगानिस्तानलाई ८ र पाकिस्तानलाई ७ विकेटले हराएको थियो । भारतले अव आइतबार न्युजिल्यान्डसँग खेल्नेछ । न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा छ । भारत ४ खेलमा ८ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

तपाईंको प्रतिक्रिया