भारतले इङ्ल्यान्डलाई दियो २३० रनको लक्ष्य

 कार्तिक १२, २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा आयोजक राष्ट्र भारतले साविक विजेता इङ्ल्यान्डलाई जितका लागि दुई सय ३० रनको लक्ष्य दिएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय २९ रन बनायो ।

पालीको खराब सुरुआत गरेको भारतीय टोलीले ४० रनको कुल स्कोरमै तीन प्रभावशाली विकेट गुमाइसकेको थियो । त्यसपछि ओपनर ब्याट्सम्यान रोहित शर्मा र पाँचौँ नम्बरमा क्रिज समाल्न आएका केएल राहुलले भारतको स्कोरलाई एक सय ३१ रनको स्थितिसम्म पुर्‍याएका थिए । कप्तान शर्माले टोलीका लागि ८७ रनको योगदान गरे । उनले एक सय एक बलको सामना गरी तीन छक्का र १० चौका हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान राहुल भने ३९ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ५८ बलमा तीन चौका प्रहार गरेका थिए ।

छैठौँ नम्बरमा क्रिज समाल्न आएका सूर्यकुमार यादव केवल एक रनका कारण अर्धसतक पुरा गर्नबाट चुके । उनलेले टोलीको खातामा ४९ रन थपे । उनले ४७ बलको सामना गरी एक छक्का र चारवटा चौका हिर्काएका थिए । भारतीय टोलीका अन्य ब्याट्सम्यान भने लामो समयसम्म क्रिजमा टिक्न सकेनन् । ओपनर शुभमन गिल नौ रन बनाउँदै आउट भएका थिए । प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले त खातासम्म खोल्न सकेनन् ।

यसैगरी तेस्रो नम्बरका ब्याट्सम्यान श्रेयस ऐयर पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । रविन्द्र जडेजा आठ रनमै पेभेलियन फर्किए । मोहम्मद सामी एक रन बनाउँदै आउट भए । जसप्रित बुमराहले रनआउट हुनुअघि टोलीको खातामा १६ रन थपे । कुलदिप यादब नौ रनमा अविजित रहे । इङ्ल्यान्डका बलर डेविड विलीले तीन विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै ४५ रन खर्चिएका थिए । क्रिस वाक्स र अदिल रसिदले दुई—दुई विकेट हात पारे । मार्क उडले पनि एक विकेट लिएका थिए ।

जारी विश्वकपमा भारतले हालसम्म एक खेल पनि हारेको छैन । यसअघि खेलिएका पाँचवटै खेलमा भारत विजयी भएको छ । इङ्ल्यान्डले भने यसअघि खेलिएका पाँचमध्ये एक खेलमा मात्र जित हात पार्न सकेको छ । बाँकी चार खेलमा भने साविक विजेता इङ्ल्यान्ड पराजित भएको छ । यसैगरी जारी विश्वकपमा भारतले पहिले ब्याटिङ गरेको यो पहिलो पटक हो । यसअघिका खेलमा भारतले दोस्रो ब्याटिङ गर्दै विजयलक्ष्य पुरा गरेको थियो । भारत र इङ्ल्यान्डबिचको खेल लखनउस्थित एकाना क्रिकेट स्डेडियममा भइरहेको छ ।

तपाईंको प्रतिक्रिया