आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

 कार्तिक १७, २०८०

काठमाडौं । सरकारले शुक्रबार र शनिबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो।

भिटामिन ‘ए’ र जुकाको औषधी नजिकैको स्वास्थ्य संस्था वा केन्द्रबाट महिला स्वास्थ्य स्वयंसेविकामार्फत् खुवाउन सकिने मन्त्रालयले जनाएको छ। यसअघि प्रत्येक वर्ष कात्तिक २ र ३ गते सञ्चालन गर्ने गरिएको यो कार्यक्रम यो वर्ष बडादशैँ परेकाले १७ र १८ गते सञ्चालन हुन लागेको हो।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधी नियमित खुवाउन थालेको हो। प्रत्येक आर्थिक वर्षमा सरकारले कात्तिक र वैशाखमा बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी निःशुल्क खुवाउने गरेको छ ।

तपाईंको प्रतिक्रिया