कर्मचारीका लागि इन्धनको सट्टा नगद

 कार्तिक २४, २०८०

काठमाडौँ । सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरेर सरकारले उक्त निर्देशिका जारी गरेको हो । निर्देशिका अनुसार सवारी सुविधा प्राप्त गर्ने कर्मचारीले अबदेखि इन्धनको सट्टा नगद प्राप्त गर्ने छन् । इन्धनबापत सम्बन्धित कर्मचारीलाई कार्यालयले इन्धनको मूल्य बराबरको रकम मासिक रूपमा र मोबिल, बे्रक आयलबापतको रकम त्रैमासिक रूपमा उपलब्ध गराउनुपर्ने छ । यसरी प्रदान गरिने इन्धनबापतको रकम मासिक रूपमा दिने तलबभत्तासँगै कर्मचारीले भुक्तानी पाउने छन् ।

इन्धन सुविधा प्राप्त गर्ने कर्मचारीले कुनै कार्यक्रम वा सरकारी कामको सिलसिलामा काठमाडौँ उपत्यकाबाहेकका अन्य जिल्ला भ्रमण गर्नुपर्ने भएमा सोही कार्यक्रमबाट सवारीसाधन र इन्धनको व्यवस्था गर्नुपर्ने छ । त्यसरी इन्धन उपलब्ध हुन नसक्ने अवस्थामा भ्रमण आदेश स्वीकृत गर्न पदाधिकारीबाट स्वीकृत भएबमोजिमको इन्धन तथा सवारीसाधनको व्यवस्था सम्बन्धित कार्यालयले गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया