कपिलवस्तुमा यातायात मजदुर संगठनको भवन बन्दै

 माघ २६, २०८०

कपिलवस्तु । यातायात मजदुरहरुको आन्दोलनमा अग्रणी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भौतिक संरचनामा समेत बलियो रहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । बिहिबार बाणगंगामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटीको भवन शिलान्यास गर्नुहुँदै अध्यक्ष राईले २०३६ सालदेखि यातायात मजदुरहरुको हक, हित, अधिकार र सुरक्षामा लडाँई गर्दै आइरहेको इतिहाँसको स्मरण गराउनुहुँदै भौतिक संरचनाको उपलब्धता र सम्पन्नताले यातायात मजदुर आन्दोलनलाई थप बलियो बनाउँने बताउँनुभयो ।

कपिलवस्तुको बाणगंगा ८ स्थित पुल्चोकमा यातायात मजदुर भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटी प्रयोजनका लागि निर्माण हुनेछ । भवनको शिलान्यास गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष राईले बाणगंगामा निर्माण हुन लागेको भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशभीत्रको छैठौँ भवन हुने बताउनुभयो । लुम्बिनीमा बुटवल, बर्दघाट, तुलसीपुर, घोराहीमा संगठनको आफ्नै भवन रहेकोमा अब यस प्रदेशको छैठौँ भवनका रुपमा कपिलवस्तुको बाणगंगामा पनि मजदुरहरुको आफ्नै भवन बन्न लागेको राईले बताउनुभयो ।

बाणगंगा नगरपालिका वडा नम्बर ८, टोल विकास समिति, नगरपालिका लगायतको सहयोगमा प्राप्त २ कठ्ठा ५ धुर जग्गामा तत्कालका लागि एउटा हल, एउटा कार्यालय कोठा र शौचालय रहेको भवन यही आर्थिक वर्षभीत्र बन्नेगरी भवनको शिलान्यास गरिएको हो । भवन शिलान्यास कार्यक्रममा बाणगंगा नगरका मेयर चक्राणी अर्याल, वडा नम्बर ८ का अध्यक्ष बाबुराम अर्यालले मजदुरहरुको हित रक्षाका लागि नगरको तर्फबाट भवन निर्माणमा उत्साहकासाथ सहयोग गरिने प्रतिवद्धता जनाउनुभयो । यातायात मजदुरहरुको अधिकारका लागि भूमिगत कालदेखि काम गरिरहेको यो देशकै सशक्त संगठनले बाणगंगा नगरपालिकामा भवन निर्माण योजना बनाउन लागेकोमा धन्यवाद दिँदै आफुहरुको साथ र सहयोग रहने मेयर अर्यालले बताउनुभयो । २०८० सालको असारसम्ममा उक्त भवन निर्माण सम्पन्न गरिसकिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्विनि प्रदेश इन्चार्ज ठाकुरप्रसाद गैरेले बताउनुभयो । तत्कालका लागि २४ लाख लागतमा भवन निर्माण सम्पन्न गरिने र आवश्यक आर्थिक सहयोग शुभेच्छुक तथा दाताहरुबाट समेत संकलन गरेर भवन निर्माण सम्पन्न गरिने लक्ष्य रहेको उपाध्यक्ष गैरेले बताउनुभयो ।

कार्यक्रममा संगठनका महासचिव केशव थापा (निरु), उपमहासचिव खगेन्द्रबहादुर ओली, केन्द्रीय सदस्य कृष्ण कँडेल, केन्द्रीय सल्लाहकार प्रमुख ध्यानबहादुर राई लगायतको उपस्थिति रहेको थियो । संगठन लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव हुमबहादुर क्षेत्रीले गर्नु भएको थियो ।

तपाईंको प्रतिक्रिया