सन्दीपले लेखे– म त फसेँ बाेलेकै भरमा, अरु कोही नफसोस्

 बैशाख २५, २०८१

काठमाण्डौं । बलात्कार मुद्दामा जिल्ला अदालतबाट दाेषी ठहर भएका नेपाली क्रिकेटर सन्दीप लामिछानेले आफूलाई फसाइएकाे दाबी गरेका छन् । मंगलबार राति सामाजिक सञ्जालमा लामाे प्रस्टीकरण दिँदै उनले आफ्नाविरुद्ध घटना घटेकाे नभई घटाइएकाे दाबी गरेका छन् । उनले जिल्ला अदालतकाे फैसलामा गम्भीर त्रुटि रहेकाे पनि बताएका छन् । ’मलाई थाहा छ कि जिल्ला अदालतले गरेको फैसलामा गम्भीर त्रुटी छ, तर पनि धेरै चुप लागेर बसेँ । कानुन व्ययवसायीले भन्नुहुन्छ तिमीलाई नगरेको अपराधको दोषी बनाइएको छ, न तथ्यले न प्रमाणले न अनुसन्धानको कुनै सारभूत निचोडले पुष्टि गर्छ’, उनले लेखेका छन् ।

उनले आफू दाेषी भए आठ वर्षकाे जेलले नपुग्ने भन्दै फाँसीकाे सजाय दिन चुनाैती समेत दिएका छन् । उनले न्याय माग्दा माग्दा आफू शिथिल भइसकेकाे बताउँदै झुटकाे न्यायका लागि लड्ने केही अभियन्ता र मिडियासँग असन्तुष्टि पाेखेका छन् । कथित अभियन्ताहरूलाई धिक्कार्दै सन्दीपले लेखेका छन्, ‘तपाईंहरूको पूर्वाग्रही दबाब र योजना मैले मात्र होइन दुनियाँले बुझेको छ । म कानुनले होइन अनुमान र एकतर्फी भनाइले दोषी भएको छु, त्यो अनुमान मेरो लागि मात्र होइन, भोलि तपाईंहरूका लागि अनि सारा संसारको लागि गम्भीर दुर्घटना हुनेछ ।लेखीराख्नू भगवानले हेरिरहेका छन् ।’

‘म सानैदेखि धर्ममा विश्वास गर्ने व्यक्ति हुँ । जो–जो यो बनावटी अभियोगको अभियानमा खटिरहनुभएको छ, कानुनले नहोला धर्मको अग्निपरीक्षामा तपाईंहरूले आफ्नो कर्मको फल भोग्नु हुनेछ’, सन्दीपले अगाडि भनेका छन्, ‘यो किन भन्दै छु भने म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्ररी थाहा छ । त्यसमा तपाईंहरूको पनि सहभागिता छ । धेरै खोल्न बाँकी छ । फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो ।’ उनले आफू बाेलेकै भरमा फसेकाे दाबी गर्दै अरु कसैले फस्न नपराेस् भन्दै कामना पनि गरेका छन् । ‘म त फसेँ बोलेकै भरमा । अब अरु कोही नफसोस् । बिन्ती छ’, सन्दीपले लेखेका छन् । जिल्लाकाे फैसलाविरुद्ध पुनरावेदन गरेका सन्दीपकाे मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ ।

तपाईंको प्रतिक्रिया