तुलसीपुरका १० वटा विद्यालयमा स्वच्छ खानेपानीको ब्यवस्थापन गरिदै

 जेठ १२, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरमा रहेका १० वटा सामुदायिक विद्यालयमा खानेपानी ब्यवस्थापन गर्न बजेट विनियोजन गरिएको छ । विद्यालयमा स्वच्छ खानेपानीको लागि भन्दै उपमहानगरको २२औं कार्यपालीका बैठकले विद्यालयमा डेढ लाख देखि साढे तीन लाख सम्म बजेट विनीयोजन गरेको उपमहानगरले जनाएको छ ।

लुम्बिनि प्रदेश सरकारबाट तुलसीपुर उपमहानगरपालिकामा हस्तान्तरीत विशेष अनुदान कार्यक्रम मार्फत विद्यालयमा खानेपानी ब्यवस्थापनमा बजेट प्राप्त भएको थियो । सोहि अनुसार नगर शिक्षा समितिको सिफारीसमा आवि कोठरी र आवि बराहखुटीलाई २/२ लाख, शान्ती मावि नवलपुर,मावि तुहीरनियापुर,मावि भोजपुर र जनश्रम मावि खाद्रेलाई ३ लाख ५० हजार दरले बजेट विनियोजन भएको छ । यस्तै रतननाथ प्रावि पोटली,प्रावि मज्गै,शुभकोटी प्रावि मनिकापुर र प्रावि दमारगाउलाई १ लाख ५० हजारका दरले बजेट विनियोजन भएको छ ।

खानेपानीको समस्या भएका विद्यालयमा अव स्वच्छ पानी विद्यार्थीले पिउने अपेक्षा गरिएको नगर प्रमुख टिकाराम खड्काले बताए । सामुदायिक विद्यालय सुधार अन्र्तगत सबै विद्यालयमा सुविधा युक्त बनाउने नगर प्रमुख खड्काले बताए ।

तपाईंको प्रतिक्रिया