टी-२० विश्वकप: अफगानिस्तान सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

काठमाडौँ । कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ को समूह १ अन्तरगतको खेलमा अफगानिस्तान डीएलएस मेथडका आधारमा ८ रनले विजयी बनेको हो । १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए ।
कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का प्रहार गरे । त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए । कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।
तपाईंको प्रतिक्रिया