टि-ट्वान्टी विश्वकप उपाधि भारतले जित्यो

 असार १६, २०८१

भारतले आइसीसी टि-ट्वान्टी विश्वकप २०२४को उपाधि जितेको छ । बार्बाडोसमा भएको फाईनलमा दक्षिण अफ्रीकालाई ७ रनले हराउँदै भारतले टि-ट्वान्टी विश्वकपको उपाधि जितेको हो ।  भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६९ रन मात्र बनाउन सक्यो ।

अन्तिम तीन ओभरमा दक्षिण अफ्रिकालाई जितका लागि २२ रन चाहिएको थियो । १८औ ओभरमा जसपृत बुम्राहले १ विकेट लिँदै २ रन मात्र दिए । अर्शदीप सिंहको १९औ ओभरमा पनि ४ रन मात्र आयो । अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको थियो । तर पहिलो बलमा नै डेविड मिलर आउट भए । लङ अफ बाउण्ड्रिमा सुर्यकुमार यादवले सानदार क्याच गर्दै उनलाई पेभेलियनको बाटो देखाएका थिए ।

दोस्रो बलमा कागिसो रबाडाले चौका प्रहार गरे । तेस्रो बलमा १ बाइ रन आयो । चौथो बलमा केशव महाराजले १ रन लिए । त्यसपछि पनड्याले वाइड बल गरे । २ बलमा ९ रन चाहियेकोमा पाचौ बलमा रबाडा आउट भए ।     दक्षिण अफ्रिकाको सुरुवात राम्रो रहेन । जसपृत बुम्राहको दोस्रो ओभरमा ओपनर रिजा हेण्ड्रिक्स ४ रन बनाएर बोल्ड भए । तेस्रो ओभरमा कप्तान एईडन मार्क्रम ४ रन बनाएर अर्शदीप सिंहको शिकार बने ।

५८ रनको साझेदारी पछि तेस्रो विकेट अक्षर पटेलले लिए । नवौ ओभरमा उनले ट्रिस्टन स्टब्सलाई बोल्ड गरेका थिए । स्टब्सले २१ बलमा ३ चौका र १ छक्का सहित ३१ रन बनाए । चौथो विकेटका रुपमा क्विन्टन डीकक ३१ बलमा ३९ रन बनाएर १३औ ओभरमा आउट भए । उनलाई आर्शदीप सिंहले आउट गरेका थिए । क्लासेन २७ बलमा २ चौका र ५ छक्का सहित ५२ रन बनाएर १७औ ओभरको पहिलो बलमा पेभेलियनको बाटो लागे । १८औ ओभरमा बुम्राहले मारको यान्सनलाई २ रन बनाएको अवस्थामा बोल्ड गरे ।

भारतका लागि हार्दिक पनड्याले ३ विकेट लिए । बुम्राह र अर्शदिप सिंहले समान २-२ विकेट लिए । अक्षर पटेलको नाममा १ विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७६ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ७६ रन बनाए । सुरुवाती तीन विकेट सस्तैमा गएपछि उनले इनिङ सम्हाल्दै राम्रो इनिङ खेलेका थिए ।

तपाईंको प्रतिक्रिया