लुम्बिनीमा आज नयाँ सरकार बन्दै
रुपन्देही । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ । अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएर साँझ नै त्यो पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएपछि आइतबार राती नै शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।
सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । एमाले–कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने योजना बनाइसकेका छन् । यही योजनाअनुसार सांसदहरूलाई तयारी रहन खबर गरिएको छ । कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने टुंगो लागेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले बताएका छन् ।
तपाईंको प्रतिक्रिया