अस्ट्रेलियाको मैदानमा पाकिस्तानले जित्यो एक दिवसीय श्रृङ्खला

 कार्तिक २५, २०८१

काठमाडौं । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको जारी तीन खेलको एक दिवसीय अन्तर्राष्ट्रिय श्रृङ्खला जितेको छ । घरेलु टोलीलाई आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा ८ विकेटले पराजित गर्दै पाकिस्तानले श्रृङ्खला २-१ ले जितेको हो । पहिलो खेल अस्ट्रेलिया र दोस्रो खेल पाकिस्तानले जितेका थिए । पाकिस्तानले पुनः एक पटक कसिलो बलिङ प्रदर्शन गर्‍यो । पहिला ब्याटिङ गरेको अस्ट्रेलिया ३१.५ ओभरमा १४० रनमा अलआउट भएको थियो । पाकिस्तानका शाहिन शाह अफ्रिदी र नसिम शाहले ३-३ र ह्यारिस रौफले २ विकेट लिए ।

तल्लो क्रमका सिन एबटले ३०, म्याथ्यु सर्टले २२, एरोड हार्डीले १२ रन जोडे । अस्ट्रेलियाका सुरुका ७ ब्याट्सम्यानमध्ये ५ जनाले दोहोरो अंक छुन सकेनन् । पाकिस्तानले २६.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । प्रारम्भिक ब्याट्सम्यानद्वय साइम अयुबले ४२, अब्दुल्लाह सफिकले ३७ रन जोडे । बाबर आजम २८ र मोहम्मद रिजवान ३० रनमा नटआउट रहे । पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा श्रृङ्खला जितेको हो । अन्तिम पटक सन् २००२ मा पाकिस्तानले अस्ट्रेलियामा घरेलु टोलीलाई हराएर श्रृङ्खला जितेको थियो ।

तपाईंको प्रतिक्रिया