नेपाली यू–१९ महिला टिमको ऐतिहासिक सफलता

 कार्तिक २८, २०८१

काठमाडौँ । नेपाली यू–१९ महिला क्रिकेट टिमले यसपालि कमालको प्रदर्शन गरेको छ । यूएईमा भएको आईसीसी यू–१९ महिला टी–२० विश्वकप छनोटमा शीर्ष स्थानमा रहँदै नेपाल पहिलो पटक विश्वकपमा छनोट भएको छ । यसअघिको संस्करणमा तेस्रो भएको नेपाल यसपालि पहिलो हुँदै विश्वकपमा पुगेको हो । नेपाल एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा घरेलु टिम यूएईमाथि ८ विकेटको शानदार जितसहित शीर्ष स्थान रहेर विश्वकपमा छनोट भएको हो ।

यसअघि शीर्ष स्थानमा रहेर यूएई छनोट भएको थियो । यसपालि चार टिम सहभागी छनोट प्रतियोगितामा नेपालले पहिलो चरणमा यूएईसँग १३ रनको हार बेहोरे पनि दोस्रो चरणमा भने यूएईमाथि ८ विकेटको सनसनीपूर्ण जित निकालेको हो । त्यो पनि मात्र १४.४ ओभरमा ।

यूएईले दिएको ८४ रनको सामान्य लक्ष्य नेपालले १४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्दै प्रतियोगितामा शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएको हो । साना प्रवीनले ४२ बलमा अविजित रहँदै ३५ रन बनाइन् । यसअघि दुबईस्थित द सेभेन स्टेडियममा नेपालले यूएईलाई ८३ रनमा रोकेको थियो । यूएईले टस जितेर पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा ८३ रनमात्र बनाएको थियो । समाइरा धरनीधरकाले सर्वाधिक ३१ रन बनाएको इनिङ्सलाई कम योगफलमा समेट्ने क्रममा क्रिश्मा गुरुङले १७ रन खर्चेर ४ तथा रिया शर्माले १२ रन खर्चेर २ विकेट लिइन् ।

नेपाल र यूएईको समान १० अंक भए पनि रन रेटमा नेपाल माथि रहँदै विश्वकपका छानिन सफल भयो । नेपालको रन रेट ३.९३५ रह्यो भने यूएईको ३.७४० रह्यो । नेपाल ०.१९५ को रन रेटमा अग्रता लिँदै विश्वकपमा छानिएको हो । दशमलव पछिको मूल्यको कति अर्थ रहेछ भन्ने कुरा यसले प्रमाणित गरिदियो । नेपालले पहिलो चरणमा थाइल्याण्डलाई ६७ रनले, कुवेतलाई १०८ रनले हराएको थियो भने यूएईसँग १३ रनले पराजित भएको थियो ।

दोस्रो चरणमा भने नेपालले थप आक्रामक र सुधारोन्मुख प्रदर्शन गर्दै थाइल्याण्डलाई १०६ रनले, कुवेतलाई १६५ रनले तथा यूएईलाई ८ विकेटले हराएको हो । यू–१९ महिला टी–२० विश्वकप आगामी जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुँदैछ । १६ देशले भाग लिने यस विश्वकपमा १५ देशको टुंगो यसअघि नै लागिसकेको थियो भने नेपाल विश्वकप खेल्ने १६ औँ देश बनेको छ । यस विश्वकपमा आयोजक मलेसिया, अघिल्लो विश्वकप खेलेका १० देश र क्षेत्रीय छनोटबाट नेपालसहित ५ देशले भाग लिँदै छन् ।

तपाईंको प्रतिक्रिया