हिरा डाँगी स्मृति कप : फाइनलमा टरिगाउँ युथ क्लब र बिग्रेड ब्वाइज भिड्ने
तुलसीपुर, ७ मंसिर । दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को फाइनलमा टरिगाउँ युथ क्लब तुलसीपुर र बिर्गेड ब्वाइज फुटबल क्लब ललितपुर भिड्ने भएका छन् । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा साविक बिजेता राईजिङ स्टार फुटबल क्लब घोराहीलाई पेनाल्टीमा पाखा लगाउँदै टरिगाउँ युवा क्लब तुलसीपुरले फाईनल यात्रा तय गरेको थियो।
त्यस्तै शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा युएनबिसी नयाँ बजार घोराहीलाई पेनाल्टीमा ३-१ ले पराजित गर्दै बिर्गेड ब्वाइजले उपाधिका लागि टरिगाउँसँग भेट पक्का गरेको हो । दुबै टिममा सशक्त र शानदार खेल प्रदर्शन गर्न सक्ने खेलाडिको वर्चस्व भएकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । फाईनल खेल दिउँसो १ बजेबाट सुरु हुने प्रतोयोगिताका संयोजक प्रेस गिरीले जानकारी दिए ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक दोस्रो सेमिफाइनल खेलको निर्धारीत समयसम्म २-२ गोलको बराबरी भएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको हो । खेलको पहिलो हाफ्को समाप्तीसम्म गोलरहित बराबरी भएपनि दोस्रो हाफमा उत्कृष्ट लयमा देखिएका दुबै टिम आक्रमक रुपमा प्रस्तुत भइरहदा युएनबिसिका जर्सी नम्बर १४ का रोबर्ट कोबिनाले दोस्रो हाफ्को १२ औ र जर्सी नम्बर १३ का चन्दन दासले १३ औ मिनेटमा स्कोर गर्दै टिमलाई २-० को अग्रता दिलाए ।
उता सबैले हारको नजिक पुगिसकेको अनुमान गरेको बिर्गेड ब्वाइज दोस्रो हाफ्को अन्त्य अन्त्यमा वेष्ट कम ब्याक गर्दै ३७ औ मिनेटमा जर्सी नम्बर ५ का विशाल भन्डारीले जवाफी पहिलो गोल गरे भने ४३ औ मिनेटमा अबिषेक रानामगरले दोस्रो गोल गर्दै टिमलाई बराबरिमा पुर्याउन सफल भए । खेलमा पेनाल्टिमा उत्कृष्ट २ बल सेभ गर्न सफल बिर्गेड ब्वाइजका सौरभ कार्की म्यान अफ द म्याच भए ।
प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधातर्फका खेलाडीलाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडीलाई नगद १५ सय तथा ट्रफी प्रदान गरिनेछ । यसैबिच भोलि हुने प्रतियोगिताको फाईनल खेल तथा समापन समारोहमा उपस्थितका लागि आयोजकले खेलप्रेमी, खेलाडि, सहयोगी संघरसंस्था, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।




तपाईंको प्रतिक्रिया