भेरी अस्पतालको सिटिस्क्यान विग्रिएर थन्कियो

नेपालगन्ज। पश्चिम नेपालका २४ जिल्लाका बिरामीहरुलाई सस्तो र सहुलियतमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको नेपालगन्जस्थित भेरी अस्पतालको सिटिस्क्यान पाँच महिनादेखि बिग्रिएर थन्किएको छ । विभिन्न दुर्घटनामा परेका तथा टाउको लगायतमा चोट लागेका बिरामीको उपचारका लागि अहम मानिने सिटिस्क्यान बिग्रिएको पाँच महिना बितेपनि मर्मत सम्भार नगरिदा सो अस्पतालमा आउने बिरामीलाई समस्या भएको छ ।
सिटिस्क्यानले काम नगर्दा सस्तोमा उपचार सेवा पाउने आशमा आएका दुरदराजका बिरामीहरुले महँगो शुल्क तिरेर बाहिर निजि स्वास्थ्य संस्थामा गई सिटिस्क्यान गराउन बाध्य रहेको अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले सिटिस्क्यान नहुँदा सस्तो र सहुलियतमा उपचार गराउन अस्पतालमा पुग्ने गरिब, विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरुले उपचारनै नपाएको अवस्था समेत रहेको बताउनुभयो ।
अस्पताल प्रशासनले सिटीस्क्यान मेसिन बनाउनका लागि बारम्बार ताकेता गरेपनि कुनै सुनुवाइ नभएको जनाइएको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. निराजन सुवेदीले सिटिस्क्यान मेसिनको ट्यूब बिग्रिएको जनाउँदै त्यसलाई बनाउन एक करोड रुपियाँ लाग्ने भएकोले समस्या आएको बताउनुभयो ।
तपाईंको प्रतिक्रिया