तुलसीपुरमा माघ २२ गतेदेखि किशोरीलाई एचपिभी खोप दिईने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा ११ हजार बढि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । जनस्वास्थ्य प्रवर्द्धन शाखाले आज अभिमुखिकरण तथा सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रम गरि यहि माघ २२ गतेदेखि विद्यालयबाट खोप लगाउन सुरु गरिने जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए । तुलसीपुरमा रहेका विद्यालयमा अध्ययनरत १० हजार ३ सय २७ र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार १२ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको उनले जानकारी दिए छ।
यसका लागि स्वास्थ्यकर्मी, स्वयंसेविका तथा शिक्षिक सहित २ सय ३७ जना जनशक्ति परिचालन गरिनेछ । यो खोप कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई लक्षित गरी लगाइनेछ । जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको विषय प्रवेश गराएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका भानु जोशीले एचपिभी खोपको महत्व, पाठेघरको मुखको क्यान्सरको अवस्था, रोकथाम तथा बच्ने उपायबारे जानकारी गराएका थिए ।
कार्यक्रममा बालरोग विषेशज्ञ डाक्टर किशोर खत्रीले खोप सुरक्षित रहेकोले ग्रामिण भेगमा यसको प्रचार प्रसार गरि सबै किशोरीले खोप लगाउने वाताबरण तयार गर्नुपर्ने बताएका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख तथा खोप समन्वय समितिका संयोजक टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जनश्वास्थ्य निरीक्षक बिमल केसीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया