कोहलीको शतकमा पाकिस्तानमाथि भारतको जित

 फागुन ११, २०८१

विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ ।

च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा विराट कोहलीले नट आउट रहँदै सर्वाधिक १ सय रन जोडे । उनले १ सय ११ बलको सामना गर्दै ७ चौका प्रहार गरे । कोहलीले तेस्रो विकेटका लागि श्रेयश अय्यरसँग मिलेर १ सय १४ रनको साझेदारी गरे । अय्यरले ६७ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५६ रन जोडे ।

शुभमन गिल ४६ तथा कप्तान रोहित शर्मा २० रनमा आउट भए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले २ तथा अबरार अहमद र खुसदिल साहले समान १ विकेट लिए । भारतले पाकिस्तान जान अस्विकार गरेपछि उसको सबै खेल युएईमा भईरहेको छ ।

त्यसअघि युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४९.४ ओभरमा २ सय ४१ रनमा समेटियो ।

तपाईंको प्रतिक्रिया