अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस: तुलसीपुरकी उर्मिला काठमाडौंमा सम्मानित

 फागुन २३, २०८१

काठमाडौं । कृषि वन उद्यमशीलताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै तुल्सीपुर उपमहानगरपालिका ८ मा अवस्थित सूर्योदय महिला ढकिया उद्यमकी सचिव उर्मिला चौधरीलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ८ मार्च २०२५ को अवसरमा काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको छ ।

‘सबै महिला र छोरीको अधिकार: समानता र सशक्तीकरणको हकदार’ भन्ने मूल नाराका साथ आयोजित  कृषि वनमा आधारित महिला उद्यमीको सिकाइ र अनुभवको संगालो विमोचन तथा अन्तरक्रियाू कार्यक्रममा चौधरीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले चौधरीलाई सम्मान गर्दै स्थानीय महिलाहरूलाई आत्मनिर्भर बनाउन उहाँको योगदान प्रेरणादायी रहेको बताउनुभयो । उहाँले महिला उद्यमशीलताको प्रवर्द्धनका लागि चौधरीको नेतृत्वमा भएको प्रयास महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो ।

चौधरीले परम्परागत सीपलाई आधुनिक उद्यमशीलतासँग जोड्दै ढकिया उत्पादनलाई व्यवसायिक रूपमा अघि बढाउँदै आउनुभएको छ। उहाँले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन तथा स्वरोजगार सिर्जना गर्न तालिम सिकाईरहनु भएको छ।

महिला उद्यमीहरूको सिकाइ र अनुभवको संगालो विमोचन
कार्यक्रममा कृषि वनमा आधारित महिला उद्यमशीलताको अनुभव समेटिएको ूमहिला उद्यमीको सिकाइ र अनुभवको संगालोू पुस्तक विमोचन गरिएको थियो । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य भारती पाठकले शुभकामना मन्तव्य दिँदै महिला उद्यमशीलताको प्रवर्द्धनका लागि नीति निर्माणमा थप ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘महिला उद्यमशीलता स्थानीय अर्थतन्त्रको मेरुदण्ड हो। कृषि वनमा आधारित उद्यमहरूलाई सहुलियतपूर्ण ऋण, बजार पहुँच, र नीति सुधारमार्फत प्रवर्द्धन गर्न आवश्यक छ।” पाठकले स्थानीय उद्यमशीलता प्रवर्द्धनका लागि सरकार, सहकारी, र गैरसरकारी संस्थाहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै, महिला उद्यमीहरूको अनुभवलाई नीति निर्माण प्रक्रियामा समावेश गर्नुपर्ने औंल्याउनुभयो ।

कार्यक्रमको अध्यक्षता ग्रहनगर्नुभएका ग्रीन फाउण्डेशन नेपालका अध्यक्ष घनश्याम पाण्डेले चौधरीजस्ता महिला उद्यमीहरूको योगदान प्रेरणादायी रहेको बताउँदै, स्थानीय उद्यमशीलता प्रवर्द्धनका लागि यस्ता उदाहरणहरू नीति निर्माण तहमा समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रम ग्रीन फाउण्डेशन नेपाल, वन तथा वातावरण मन्त्रालय रेड कार्यन्वयन केन्द्र, प्राकृतिक स्रोत महिला अधिकार सञ्जाल लगायको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरु कुसुमदेवि थापा, मदन कुमारि शाह र रेनु चन्द , सह सचिव नवराज पुडासैनि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । साथै विभिन्न क्षेत्रका महिला उद्यमी, सहकारी संस्थाका प्रतिनिधिहरू, नीति निर्माताहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले महिला उद्यमशीलताको दिगोपन, वित्तीय पहुँच, बजार विस्तार तथा नीति सुधारका विषयमा छलफल गरेका थिए।

तपाईंको प्रतिक्रिया