तुलसीपुर उपमहानगरपालिकामा दुई दिन विद्यालय बिदा

 २ घण्टा अगाडि

तुलसीपुर । प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै तुलसीपुर उपमहानगरपालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीका अनुसार सम्भावित भारी वर्षा, हावाहुरी, चट्याङ तथा अन्य विपद्का जोखिमलाई ध्यानमा राख्दै विद्यालयमा दुई दिन बिदा दिने निर्णय गरिएको हो ।

शिक्षा तथा खेलकुद मन्त्रालयले समेत असोज ८, १० र ११ गते विभिन्न स्थानमा भारी वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात तथा हावाहुरी र चट्याङको सम्भावना रहेको भन्दै विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राख्न सम्बन्धित निकायलाई आग्रह गरेको थियो ।

सम्भावित जोखिमका कारण विद्यालय आवतजावतमा समस्या आउन सक्ने तथा विद्यार्थीको सुरक्षामा असर पर्न सक्ने भएकाले आज असोज ८ र ९ गते तुलसीपुर उपमहानगरपालिकाले बिदा दिने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख भण्डारीले जानकारी दिनुभयो ।उपमहानगरपालिकाले विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै अभिभावक तथा विद्यार्थीलाई समेत सतर्क रहन आग्रह गरेको शिक्षा सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतले जानकारी दिनुभयाे ।

तपाईंको प्रतिक्रिया