शिक्षकमाथि विद्यार्थीले गरे हतियार प्रहार

 बैशाख १९, २०८२

दाङ । दाङको तुलसीपुरस्थित एक निजी विद्यालयमा विद्यार्थीले शिक्षकमाथि धारिलो हतियार खुँडा प्रहार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-६ रजौरास्थित हिमाल एकाडेमीमा कक्षा १२ मा पढ्ने १८ वर्षीय सुरेश सुनारले ३७ वर्षीय विशेष श्रेष्ठमाथि खुँडा प्रहार गरेका हुन् । श्रेष्ठ कक्षा १२ का संयोजक समेत हुन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार श्रेष्ठको बायाँ कुम र दुबै हातको पाखुरामा चोट लागेको छ। उनको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँबाट प्राथमिक उपचार पछि राप्ती लाइफ कियर हस्पिटलमा लगिएको छ ।

उनको स्वास्थ्य अवस्था मध्यम छ । कक्षा १२ को परीक्षा आइतबारदेखि सुरू हुँदैछ । परीक्षा अघि नै विद्यालय बिदा भइसकेको थियो । शुक्रबार बिहान विद्यालय पुगेका सुरेशले कापी जाँचिरहेका शिक्षक विशेषमाथि खुँडा प्रहार गरेको विद्यालयका एक शिक्षकले बताए । सुरेशले किन शिक्षकमाथि हतियार प्रहार गरे भन्ने खुलिसकेको छैन।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

तपाईंको प्रतिक्रिया