सहयोग संकलन गरी ठाडाको परीवारलाई टिन सहयोग

 जेठ ०९, २०८२

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं २ एकता टोल निवासी भुमा ठाडाको परिवारलाई टिन सहयोग गरिएको छ । ठाडाका परिवारलाई टोलवासी र विभिन्न समाजसेवीहरूको सहयोगमा घर निर्माणका लागि आवश्यक टिन सहयोग गरिएको हो ।

केही महिना अघि वैदेशिक रोजगारीको क्रममा श्रीमानको मृत्यु भएपछि भुमा ठाडाको परिवार आर्थिक संकटमा परेका थिए। बस्ने घर र दैनिक खानपानको जोहो समेत गर्न नसक्ने अवस्थाबीच गाउँका छरछिमेकीले केही समयसम्म खानेकुरा र बस्ने ठाउँको सहयोग गर्दै आएका थिए।

अहिले घर निर्माणको काम थालिए पनि टिनको अभाव भएको खबर पाएपछि स्थानिय गणेश भण्डारीले पहल थालेका थिए । यसैक्रममा लायन्स क्लव अफ दाङका पूर्वअध्यक्ष सुरेश हमालको तर्फबाट १२ हजार ६ सय, क्लबका वर्तमान अध्यक्ष गोरख ओलीको तर्फबाट ५ हजार, तुलसीपुर निवासी खिमा पुनको तर्फबाट ७ हजार ५ सय र गणेश भण्डारीको ५ हजार गरी जम्मा ३० हजार संकलन गरिएको थियो । सो रकमबाट १२ फुटे ३६ गेजका २० पिस टिन खरिद गरी भुमा ठाडाको घरमै पुगी हस्तान्तरण गरिएको हो ।

यसैविच तुलसीपुर वडा नम्बर २ का वडा अध्यक्ष भिम योगी, वडा सदस्य हुमा घर्ती, एकता टोल विकास संस्थाका अध्यक्ष लगायतको रोबरमा आज टिन हस्तान्तरण गरिएको हो ।

तपाईंको प्रतिक्रिया