टरिगाउँ विमानस्थल विस्तारमा सरकारको चासो
दाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन् ।
दुवै विमानस्थलको निरीक्षण तथा अवलोकन भ्रमणपछि मन्त्री पौडेलले बिहीबार मन्त्रालयमा प्राधिकरणका पदाधिकारीसँग छलफल गर्दै आवश्यक अध्ययन अघि बढाउन निर्देशन दिएका हुन् ।
क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रका पदाधिकारीले २१ देखि २६ असोजसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण गरेका थिए ।
टरिगाउँ विमानस्थलको विकास तथा विस्तारका सम्भावनाबारे अध्ययन गरी हवाई यातायातलाई थप सहज र सुलभ बनाउने लक्ष्य राखिएको छ । त्यस्तै, रारा विमानस्थलको स्तरोन्नति तथा विस्तार गर्न सकिने सम्भावनाको अध्ययन गरिनेछ ।
क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार रारा विमानस्थलको हकमा आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावनाबारे समेत प्राविधिक तथा सम्भाव्यता अध्ययन गरिनेछ ।
दुवै विमानस्थलको विकासका लागि आवश्यक पूर्वाधार, प्राविधिक सम्भाव्यता, सञ्चालन क्षमता र सेवा प्रभावकारिताबारे अध्ययन गरी आगामी कार्ययोजना बनाइनेछ ।
शिलापत्रबाट साभार गरिएको



तपाईंको प्रतिक्रिया