दाङमा दुई मोटरसाइकल ठोक्किएर आगलागी, एक जनाको मृत्यु

 ८ घण्टा अगाडि

दाङ । दाङमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–२, रामपुर निवासी ४० वर्षीय टोपबहादुर वली रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। मोटरसाइकल जलेका कारण नम्बर पहिचान हुन सकेको छैन।

दुर्घटनामा घाइते भएका दाङको बंगलाचुली गाउँपालिका–४ का सुनिल खत्री र रामबहादुर डाँगीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको एउटा मोटरसाइकलमा तीन जना सवार थिए। उक्त मोटरसाइकलका चालक बंगलाचुली गाउँपालिका–४ निवासी मोहन डाँगी दुर्घटनापछि फरार भएका छन्। फरार चालक डाँगीको खोजी भइरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिक्रिया