एमाले परित्याग गरेको सूचिमा अधिंकाश नेताको नाम ‘किर्ते’

 जेठ ३२, २०८२

तुलसीपुर ।  दाङमा ८६ जनाले एमाले पार्टी परित्यागको गरेको सार्वजनिक भएको विज्ञप्तीमा अधिंकाश नेताको नाम र हस्ताक्षर किर्ते गरेको खुलेको छ । आफ्नो नाम एक्कासी सामाजिक सञ्जालमा देख्दा गम्भीर ध्यानाकर्षण भएको उनिहरुले जनाएका छन । २०७९ को निर्वाचनमा दाङ २ प्रदेशसभा सदस्यका लागि ‘ख’ बाट उम्मेदवार बनेका गिरिराज केसीको नेतृत्वमा ८६ जनाले पार्टी परित्यागको घोषणा गरिएको विज्ञप्ती बिहीबार साँझ सार्वजनिकभएको थियो ।

त्यो सूचिमा नाम आएपछि आश्चर्यमा पर्दै किर्ते हस्ताक्षर गरेको भन्दै तुलसीपुर – ३ का कलिभान रोकाले आपत्ती जनाएका थिए । यस्तै तुलसीपुर १३ का बाबुराम विश्वकर्मा,निमकान्त पौडेल,गणेश चौधरी,खिमलाल चौधरी र गोविन्द पौडेलले आज विज्ञप्ती जारी गरी ध्यानाकर्षण भएको जनाएका छन । आफुलाई जानकारी नदिई पार्टि छाडेको भनेर हस्ताक्षर गर्नु दु:खद पक्ष रहेको हुदा एमालेमा नै रहेको उल्लेख गरेकाे जिल्ला सदस्य तथा १३ नम्बर वडा इन्चार्ज मोहन पौडेलले जानकारी दिए ।

यस्तै दुई वर्षअघि मृत्यु भएका नेताको नाम र हस्ताक्षर समेत रहेको खुलेको थियो ।  यसरी जिल्लाको गढवा,लमही,घोराही,तुलसीपुर लगायतका अधिकांशका नेताहरुको नाम विना जानकारी राखेर हस्ताक्षर भएको खुल्दै गएको एमाले जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीले बताए ।

तपाईंको प्रतिक्रिया