देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

 साउन २८, २०८२

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक रहेकाले आज देशभर मौसम बदली रहनेछ । देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानमा र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशभर पूर्ण बदली रहनेछ । मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । विशेषगरी, मधेस, कोशी र बागमती प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा पनि भारी वर्षा को सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया